श्रीवैष्णवस्तोत्रमाला

बैशाख १८ गते, शुक्रबार
May 1, 2026

श्री शेषावतार भाष्यकार रामानुज स्वामीजी

श्री शेषावतार भाष्यकार रामानुज स्वामीजी


यो नित्यमच्युत पदाम्बुज युगमरुक्म

व्यामोहतः तदितराणि तृणाय मेने ।

अस्मद्गुरोर्भगवतोSस्य दयैक सिन्धो:

रामानुजस्य चरणौ शरणं प्रपद्ये ॥


नाम : भाष्यकार रामानुज स्वामीजी

जन्म मिति : वि.सं १०७४ चैत्र शुक्ल पञ्चमी

जन्म नक्षत्र : आद्रा

जन्म स्थान : पेरुम्बुदुर भारत

स्वाचार्य : श्रीयामुनाचार्य , श्री महापूर्णाचार्य, श्री शैलपूर्णाचार्य, श्री गोष्ठीपूर्णाचार्य, श्री वररङ्गाचार्य , श्री मालाधराचार्य

प्रमुख शिष्यहरू : श्री कुरेश, श्री दाशरथी, श्री आन्ध्रपूर्ण, श्री गोविन्द श्री धनुर्दास

शिक्षा / सिद्धान्त : विशिष्टाद्वैत

पिताको नाम : केशवयाजी

माताको नाम : कान्तिमती

श्रीमतीको नाम : रक्षकाम्बा

वै. मिति : वि.सं ११९४ श्रीरङ्गम् तमिलनाडु भारत



जगद्गुरु त्रिदंडी श्रीभाष्यकार श्रीरामानुजाचार्य (अवतार १०१७ - परम्पद - ११३७) विशिष्टाद्वैत वेदान्तका प्रवर्तक हुनु हुन्थ्यो तथा हिन्दू धर्म अन्तर्गत श्रीसम्प्रदायका विशिष्ट पूर्वाचार्य पनि हुनुहुन्थ्यो । उहाँको भक्तिमा परम्पराको धेरै प्रभाव रहेको छ । उहाँ वेदान्त दर्शनमा आधारित विशिष्टाद्वैतका प्रवर्तक हुनुहुन्थ्यो । उपनिषद, भगवदगीता र ब्रह्मसूत्रको आदि शंकराचार्यको अद्वैतपरक व्याख्यालाई प्रतिवादको रूपमा रामानुज स्वामिजिले विशिष्टाद्वैतको प्रतिपादन गर्नु भयो । उहाँको समयमा जैन धर्म र बौद्ध धर्मको प्रचारको कारण सारा वैष्णव सम्प्रदाय सङ्कटग्रस्त अवस्थामा रहेको थियो। श्रीरामानुजाचार्यले त्यो सङ्कट सफलतापूर्वक प्रतिकार गर्दिनु भयो । साथै उहाँले शंकराचार्यको अद्वैत मतलाई खण्डन गरेर विशिष्टाद्वैत मतको प्रवर्तनको लागि अनेक ग्रन्थहरूको रचना गर्नु भएको थियो । श्रीवैष्णव आचार्यहरूमा प्रमुख श्रीरामानुजाचार्यका कुरेश आदि प्रमुख पाँच शिष्य हुनु हुन्थ्यो । त्यस्तै अन्य प्रसिद्ध रामानन्द पनि रामनुजाचार्यको शिष्य परम्परामा नै हुनु हुन्थ्यो भन्ने कतै कतै सुनिन्छ । श्रीरामानुजाचार्यले वेदान्त वाहेक सातौँ - दशौँ शताब्दीका रहस्यवादी र भक्तिमार्गी आलवारहरू संग भक्तिदर्शनलाई तथा दक्षिणको पञ्चरात्र परम्परालाई आफ्ना विचारको आधार बनाउनु भयो । श्रीरामानुजाचार्यले मोक्षको लागि जुन मन्त्र सार्वजनिक गर्न गुरुद्वारा निषेध गरिने परम्परा थियो त्यसलाई उहाँले तोड्नु भयो र सबैलाई मोक्ष हुने अधिकार स्थापना गर्नु भयो । उहाँको एक प्रसिद्ध भनाइ छ मन्त्रले कष्टनाश हुन्छ त्यो कुनै एकको लागि होइन यो सबैको अधिकार हो । श्रीरामानुजाचार्य धेरै परोपकारी सन्त अल्वार हुनुहुन्थ्यो । श्रीरामानुजाचार्यले वेदान्त दर्शनमा आधारित आफ्नो छुट्टै नवीनतम दार्शनिक सिद्धान्त विशिष्टाद्वैतको रचना गर्नु भएको थियो ।


जन्म तथा जीवनी

पिंगल नामक सम्वत्सरका चैत्र महिनाको उत्तरीय पञ्चाङ्ग अनुसार वि.सं.१०७४ वैशाख शुक्ल पञ्चमी गुरुवार आद्रा नक्षत्रको सिंह लग्नमा दक्षिणभारतको तोण्डीर नामक मण्डल-अन्तर्गत श्रीमहाभूतपुरी नामक दिव्यक्षेत्र (अहिले तमिलनाडु प्रान्तको श्रीपेरुम्बुदुर् नामले प्रसिद्ध नगर) मा आजभन्दा करिव एक हजार वर्ष पहिले भगवान् भाष्यकार श्रीरामानुजाचार्य स्वामीजिको प्रादुर्भाव भएको थियो । आफ़्ना भान्जाको शुभमुहूर्तमा जन्म भएको थाहा पाएर श्रीयामुनाचार्यका प्रियशिष्य, श्रीवेंकटाचलनिवासी मामा श्रीशैलपूर्णाचार्य श्रीभूतपुरीमा आउनु भयो र नवजात बालक श्रीरामानुजको वैदिक विधि-अनुसार नामकरण संस्कारका साथै प्रारम्भिक श्रीवैष्णवीय दीक्षा पनि प्रदान गर्नु भयो । श्रीरामानुजको चूडाकर्म आदि संस्कारहरू सम्पन्न भएपछि पिताजीले ५ वर्षमा नै वहाँलाई अक्षरारम्भ गराउनुभयो। त्यसैगरी क्रमशः उपनयन संस्कार सम्पन्न गरी वेद-वेदा·का ज्ञाता श्रीमान् केशवयाजीले आफैं नै पुत्रलाई वेदवेदाङ्गादि शास्त्रहरूको अध्ययन गराउनुभयो ।


शिक्षा

उहाँले काञ्चीक्षेत्रमा रहने त्यस समयका सुप्रसिद्ध दार्शनिक, वेदान्तका विशिष्ट विद्वान् श्रीयादव प्रकाश संग वेदान्तादि अध्यात्मशास्त्रको अध्ययन गर्न थाल्नु भयो । असाध्यै कुशाग्र बुद्धि भएका श्रीरामानुजाचार्य गुरुले पढाउँदै गर्दा कहाँ त्रुटि भयो, औंल्याइहाल्नु हुन्थ्यो । एक दिन वेदान्तशास्त्रको अध्ययनका समयमा श्रीयादव प्रकाशबाट -"सर्वं खल्विदं ब्रह्म " यस औपनिषदिक वाक्यको अवास्तविक अर्थ (सबै चराचर=चेतन र जड संश्लिष्ट जगत् ब्रह्मको विवर्त भएकाले मिथ्या हो भन्ने) निरूपण भएको सुनेर श्रीरामानुजले विनयपूर्वक गुरुजीका समक्ष त्यस श्रुतिको वास्तविक अर्थ (चराचर सम्पूर्ण जगत्ब्र ह्मात्मक हो, त्यसैले ब्रह्मको शरीरभूत चराचर= जीव र प्रकृति पनि ब्रह्म जस्तै शाश्वत् नित्य छन्, मिथ्या होइनन् यस्तो अर्थ) निरूपण गरेर सुनाउनुभयो ।यस्तो प्रखर प्रतिभा भएकाले उहाँ बाल्यावस्थादेखि नै अमूर्त दार्शनिक तत्त्वलाई बुझ्न, त्यसमा आफ्ना नवीनतम धारणा बनाउन र भाष्य प्रस्तुत गर्ने क्षमता वहन गर्नु हुन्थ्यो । एक पटक उहाँले गुरु यादवप्रकाशले गरेको श्रुतिको व्याख्याका विषयमा असहमति प्रकट गर्नु भएको थियो । त्यस असहमतिको प्रसङ्ग यस्तो छ - गुरु यादवप्रकाशले 'कप्यासं पुण्डरीकाक्षम्' भन्ने पदावलीको व्याख्यान गर्दा भगवानका आँखा बाँदरको वैठक जस्तो रातो छ भनेका थिए, तर श्रीरामानुजाचार्यले आफूभित्र रहेको शास्त्रीय ज्ञान र विलक्षण प्रतिभाको परिचय दिंदै 'कं - जलं पिबति इति कपि: - सूर्य:, तेन आस्यते क्षिप्यते इति कप्यासम् अर्थात् कमलम्' यस्तो लौकिक विग्रह प्रस्तुत गरी 'कप्यासः' यस पदको अर्थ अगाध जलराशिमा उत्पन्न र उदाउँदो सूर्यकिरणबाट नवविकसित कमल दलसमान भगवान् नारायणका युगल नेत्र छन् भनी शास्त्रसम्मत र लोकसम्मत सुन्दर अर्थ लगाउनु भयो । यसरी आफ्नो एउटा शिष्यले यस्तो सुन्दर व्युत्पत्ति र अर्थ गरेकाले गुरु यादवप्रकाशको हृदयमा उनीप्रति द्वेषभाव उत्पन्न भयो । उनले षड्यन्त्र गरी श्रीरामानुजाचार्यलाई मार्ने योजना बनाए । तर शेषावतार भएकाले हरहमेशा उहाँ माथि भगवान् वैकुण्ठनाथको छत्रछाया रहने गर्दथ्यो, त्यसैले भगवत्कृपाले उहाँलाई केही पनि भएन । उमेर बढे सँगै भगवद्श्रीरामानुजाचार्य को विद्वत्ता र ख्यातिमा निरन्तर वृद्धि हुँदै गयो ।


विवाह तथा सन्यास ग्रहण

श्रीरामानुचार्य गृहस्थ हुनुहुन्थ्यो उहाँको उचित समयमा विवाह पनि भएको उमेरले युवा हुँदै गएका श्रीरामानुजको सुयोग्य ब्राह्मणी कन्या रक्षकाम्बासँग पिताजीले विवाह गरिदिनु भएको थियो । विवाहको केही समयपछि पितृवियोगको पीडा आइप रेकालेर वदान्तादि दर्शनको अध्ययन गर्ने उत्कट चाहनाले पनि भूतपुरी छोडी सपरिवार काञ्चीपुरी गएर निवास गर्न थाल्नु भएको थियो । थियो, तर लामो समय दाम्पत्य जीवन चलेन । गृहस्थमा बसेर आफ्नो उद्देश्य पूरा गर्न कठिन भएको देखेपछि गृहस्थ आश्रम छोडेर उहाँ युवावस्थामा नै श्रीरंगम गएर संन्यास धर्मको दीक्षा लिएर सन्न्यासी बन्नु भएको थियो । श्रीरामानुजाचार्यको सन्न्यास जीवन प्रारम्भ भएपछि अब उहाँको सम्पूर्ण समय अध्ययन, चिन्तन र भगवद्भक्तिमा व्यतीत हुन थाल्यो । उहाँका अनुयायी र शिष्यहरूको सङ्ख्यामा पनि दिनानुदिन वृद्धि हुन थाल्यो । कतिसम्म भने बाल्यावस्थामा उहाँलाई वेद पढाउने तथा द्वेषबुद्धिले गर्दा उहाँलाई नै मार्न तानाबुना रच्ने गुरु यादवप्रकाश स्वयंले पनि कालान्तरमारामानुजाचार्यको शिष्यत्व ग्रहण गरेका थिए । भगवद्श्रीरामानुजाचार्यद्वारा प्रतिपादित सिद्धान्तलाई विशिष्टाद्वैत सिद्धान्त भनिन्छ । श्रीरामानुजाचार्य असाध्यै विद्वान, सदाचारी, धैर्यवान् र उदार व्यक्तित्व हुनु हुन्थ्यो । चरित्रबल र भक्तिभावमा उहाँलाई अद्वितीय नै मान्ने गरिन्छ । उहाँको जीवनको अधिकतम समय दक्षिण भारतको काञ्चीपुरम् भन्ने ठाउँमा रहेको वरदराज मन्दिरमा बितेको थियो । उहाँका गुरु श्रीयादव प्रकाशले आफ्ना विगतका कुकर्महरूका लागि ठूलो पश्चाताप महसुस गरे र उनी पनि सन्यासको दीक्षा लिएर श्रीरंगम गए र श्रीरामानुजाचार्यको सेवा गर्न लागे ।


यामुनाचार्य तथा केही महत्वपूर्णकार्यहरू

जब यामुनाचार्यवैकुण्ठ जान उद्यत् हुनु हुन्थ्यो त्यस समय अब आफ्नो जीवनलीला समाप्त हुँदैछ भनेर उहाँले श्रीरामानुजाचार्यलाई आफ्ना समीपमा आइदिए हुन्थ्यो भनी एक जना शिष्यमार्फत सन्देश पठाउनु भयो । तर श्रीरामानुजाचार्य काञ्चीबाट श्रीरङ्गम् पुग्दानपुग्दै यामुनाचार्य स्वमिजिको वैकुण्ठ गमन भयो । यामुनाचार्य स्वामीजीको नश्वर शरीरको अन्त्यष्टि समाधि दिन गर्न बाँकी नै थियो, श्रीरामानुजाचार्य पनि श्रीरङ्गम् आइपुग्नु भयो । यामुनाचार्यको मृत शरीरका दाहिने हातका तीनवटा औंला दोब्रिएका देखिन्थे । श्रीरामानुजाचार्यलाई यामुनाचार्य स्वामीजी यी औलाका माध्यमबाट केही सन्देश प्रदान गर्ने इच्छा राख्दै गर्दा वैकुण्ठ जानु भएको कुरा आभाष भयो । त्यसपछि उच्चस्वरमा श्रीरामानुजाचार्यले उद्घोष गर्नु भयो -

'म विष्णुमतमा रहेर अज्ञानताले मोहजालमा जकडिएका मानिसहरूलाई पञ्चसंस्कारले युक्त द्रविड वेदमा पारङ्गत बनाएर शरणागति धर्मप्रति उन्मुख बनाई तिनको सर्वदा रक्षा गर्नुका साथै आलवार भक्तहरूद्वारा गायन गरिएका पदहरूको सङ्ग्रह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।'

श्रीरामानुजाचार्य ले यति भन्नासाथ यामुनाचार्यको मृतशरीरमा खुम्चिएका औंलामध्ये एउटा औंलो सोझियो । त्यसपछि पनि श्रीरामानुजाचार्यले आफ्ना उद्घोष जारी राख्दै अर्को वाक्य भन्नु भयो -

'म सामान्य जनमानसको रक्षाका निमित्त समस्त अर्थको सङ्ग्रह गरी मङ्गलमय परम तत्त्वज्ञानको प्रतिपादन गर्ने श्रीभाष्यको रचना गर्नेछु ।'

यति भन्नासाथ यामुनाचार्यको अर्को एउटा औंलो पनि सोझियो । श्रीरामानुजाचार्यले फेरि पनि अर्को वाक्य भन्नु भयो -

'सांसारिक मनुष्यको दयाभावले जीव, ईश्वर, जगत्, तिनको प्रकृति र स्वभाव तथा उन्नतिको उपायको सुस्पष्ट व्याख्यान गरी ऋषि पाराशरद्वारा विरचित श्री विष्णुपुराणको रचनाकारको नाम म कुनै वैष्णव पण्डितलाई तिनै ऋषिको नाम प्रदान गरी सम्मान गर्नेछु ।'

श्रीरामानुजाचार्यले यति भन्नासाथ यामुनाचार्यको खुम्चिएको अन्तिम औंलो पनि सोझिन पुग्यो । यस्तो परिदृश्य देखेर त्यहाँ उपस्थित सबै जना छक्क परे । तिनलाई अहिले वाचा गरिरहेको नवयुवकले छिट्टै नै आलवन्दार (श्रीयामुनाचार्य) को पदमा आसन ग्रहण गर्नेछ भन्ने कुरामा कुनै सन्देह रहेन । कालान्तरमा श्रीरामानुजाचार्यले ब्रह्मसूत्रमा भाष्य गर्नुभयो जो 'श्रीभाष्य' भनेर प्रसिद्ध छ त्यसरी नै श्रीवैष्णव आचार्यहरूद्वारा गायन गरिने गाथाहरूको सङ्ग्रह गरी 'दिव्यप्रबन्धनम्'को सङ्कलन गर्नु भयो र दक्षिण भारतका तात्कालिक आठ जना दिग्गज आचार्यहरूमध्ये एक जना श्रेष्ठ वैष्णवाचार्यलाई 'पाराशर' नाम राखेर महर्षि परशरको सम्मान गर्नु भयो । यसरी श्रीयामुनाचार्यलाई प्रदान गरेका तीनवटै वचनलाई श्रीरामानुजाचार्यले पूर्ण गर्नु भयो।


दीक्षा

पछि उहाँले गोष्ठीपूर्णबाट श्रीवैष्णव सम्प्रदायको दीक्षा लिनु भयो । गोष्ठीपूर्ण एक सर्वोच्च धार्मिक विद्वान हुनु हुन्थ्यो । श्रीरामानुजाचार्य दीक्षा लिन र मन्त्र ग्रहण गर्न उहाँ कहाँ जानु भयो । उहाको आगमनको नियत थाहा पाएर गोष्ठीपूर्णले भन्नु भयो , अझै कुनै दिन आउनुहोस्, विचार गरौला । निराश भएर श्रीरामानुजाचार्य आफ्नो निवासमा फर्किनु भयो । यसपछि श्रीरामानुजाचार्य पुनः पुनः गोष्टिपूर्णको चरण पर्नुभयो, तर उहाको उद्देश्य सफल हुन सकेन । यसरी अठार पटक फर्किएपछि गोष्ठीपूर्ण स्वामीजिले रामानुजाचार्यलाई अष्टाक्षर नारायण मन्त्र उपदेश दिएर भन्नु भयो - वत्स! जसले यो परम पवित्र मन्त्र सुन्दछ, उसले सबै पापहरूबाट मुक्ति प्राप्त गर्दछ। मृत्युपछि त्यो भगवान नारायणको दिव्य वैकुण्ठधाममा जान्छन्। यो धेरै गोप्य मन्त्र हो, यो अयोग्य व्यक्तिलाई नसुनाउनुहोस् किन कि उसले यस मन्त्रको सम्मान गर्दैन। गुरुको निर्देशन अनुसार श्रीरामानुजाचार्यलाई यो दिव्य मुक्तिप्रदायक मन्त्र कसैलाई पनि न भन्ने आज्ञा थियो । तर जब श्रीरामानुजाचार्यलाई यो रहस्य थहा भयो कि मन्त्र सुनेर मानिसहरूले मुक्ति पाउँछन्, तब उहाले हजारौ मानिस बोलाएर जात जति धनि गरिव स्त्री पुरुष केही भेद नगरी मन्दिरको गुपुरममा चढेर त्यो मन्त्रको उपदेश दिनु भएको थियो । यो सबै थहा पाएर क्रोधित गोष्ठीपूर्ण स्वामीले उहाँलाई थर्काउदौ भन्नु भयो यो अवज्ञाको लागि म तपाईलाई नरक जाने श्राप पनि दिन सक्छु । त्यसको प्रत्युत्तरमा श्रीरामानुजाचार्यले भन्नु भयो मन्त्र सुनेर हजारौं मानिस मुक्त भए भने म नरकजान तयार छु गुरुदेव ।श्रीरामानुजाचार्यको जवाफ सुनेर गुरु धेरै खुसी हुनु भयो र आजबाट तपाईलाई विश्वले जगद्गुरु श्री रामानुजाचार्य भनेर जान्ने छ भनी आशिर्वाद दिनु भयो ।


श्रीवैष्णवशिक्षा तथा शास्त्रार्थ

श्रीरामानुजाचार्यले यामुनाचार्यलाई आफ्नो मानसिक गुरु मानेर उनका शिष्य महापूर्णका सान्निध्यमा करिव छ महिनासम्म रहेर यामुनाचार्यका दार्शनिक सिद्धान्त र विचारको अध्ययन गर्नु भयो । त्यसपछि एक वर्षसम्म सम्प्रदायका गोष्ठी, सभा र कार्यक्रममा सामेल हुनु भयो । त्यसपछि उहाँले भारतवर्षको पदयात्रा प्रारम्भ गर्नु भयो । यस अवसरमा विष्णु मन्दिरका संरक्षकहरू, पण्डित र विद्वानहरूसित शास्त्रार्थ गर्नु भयो । शास्त्रार्थमा पराजित भएका सबै विद्वानहरूले उहाँको शिष्यत्व ग्रहण गरे । उहाँले कतिपय महत्त्वपूर्ण र विशिष्ट मन्दिरहरूको निर्माण र जीर्णोद्धार गर्नु भयो । यसरी उहाँद्वारा श्रीवैष्णव मत र श्रीसम्प्रदायको प्रचारप्रसारले श्रीवृद्धि हुनपुग्यो । अन्त्यमा दक्षिण भारतको श्रीरङ्गम् भन्ने स्थानबाट पैदल यात्रा गरी शालिग्राम क्षेत्रमा गएर बाह्र वर्षसम्म साधना गर्नु भयो । श्रीरामानुजाचार्य स्वामीले उक्त अवधिमा श्रीसम्प्रदायको प्रचार प्रसार मात्र गर्नु भएन, यस अतिरिक्त ब्रह्मसूत्र, विष्णुसहस्रनाम र दिव्यप्रबन्धको भाष्य पनि लेख्नु भयो गुरुआज्ञालाई पूर्णता प्रदान गर्ने कामसमेत सम्पादन गर्नु भयो । त्यसपछि पनि उहाँले समस्त भारतवर्षको पैदल यात्रा गरी वैष्णव धर्मको प्रचारप्रसार गर्नु भयो ।



देहत्याग

वि. सं. ११९४ मा श्रीरामानुजाचार्य स्वामीले १२० वर्षको उमेर पार गरी सांसारिक नश्वर देह त्यागी वैकुण्ठ प्रस्थान गर्दै भगवद्सान्निध्य प्राप्त गर्नु भयो । शालग्राम क्षेत्रमा रचना गरिएका तिनै तीनवटा भाष्यहरू (ब्रह्मसूत्रको भाष्य, श्रीभाष्य र वेदार्थसङ्ग्रह) नै स्वामी श्रीरामानुजाचार्य का उपलब्ध मूल ग्रन्थहरू हुन् ।


Download PDF


विरचित स्तोत्र एवं ग्रन्थ

श्रीभाष्यम्

वेदार्थसंग्रह

गीता भाष्यम्

वेदान्तदीपम

वेदान्तसारम

शरणागति गद्य

वैकुण्ठ गद्य

श्रीरंग गद्य

नित्य ग्रन्थ

Author Avatar
Written By Devraj Poudel
Share:
👍 ❤️ 😂 😮 😢 😠
Tools:

Comments (1)

Log in to post a comment.

/home/shreesam/app.shreesampradaya.com/viewnote.php on line 126

Deprecated: htmlspecialchars(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/shreesam/app.shreesampradaya.com/viewnote.php on line 126
" data-comment-id="
Warning: Undefined array key "id" in /home/shreesam/app.shreesampradaya.com/viewnote.php on line 126

Deprecated: htmlspecialchars(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/shreesam/app.shreesampradaya.com/viewnote.php on line 126
">
Avatar
Devraj Poudel Nov 18, 2025
hii
Success
Action completed successfully!
Notifications

Welcome!

Login to access your account

Login / Register About Contact Us Privacy Policy
×